विकल्पमा सुतीको मास्क
सुतीको तीन तहको पातलो कपडा सिलाएर बनाइएको मास्क कोरोना भाइरसको प्रसारलाई रोक्न उपयोगी हुने विशेषज्ञहरूको भनाइ
‘कोरोनाविरुद्धको लडाइँमा फेस मास्क धेरै महत्त्वपूर्ण छ,’ स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले भने, ‘घरबाहिर अत्यावश्यक कामले निस्किँदा सबैले अनिवार्य रूपमा मास्क लगाउनुहोला भनिरहेका छौं ।’ घरमै नेपाली थैली बनाएझैं सुती कपडाको तीन तहको पातलो कपडा सिलाएर मास्क बनाउन सकिने उनको भनाइ छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार कोरोनाको प्रसारलाई रोक्न र जीवन बचाउने उपायको रणनीतिको एक अंगका रूपमा मास्क प्रयोग गर्नुपर्छ । भीडभाडमा २ मिटर अर्थात् करिब ६ हात टाढाको दूरी कायम गरी मास्क लगाए जोखिमबाट बच्न सकिन्छ ।
‘संक्रमित व्यक्तिको मुख र नाकबाट निस्किने पानीको थोपाबाट कोरोना संक्रमण सर्ने सम्भावना हुन्छ, यसैले खोप नआएसम्म मास्क लगाउनु अत्यावश्यक छ,’ इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक एवं भाइरोलजिस्ट डा. वासुदेव पाण्डेले मास्क लगाउने तरिकाबारे भने, ‘नाक, मुख र चिउँडो छोप्दै मास्कलाई अनुहारमा लगाउनुपर्छ । मुख र मास्कबीच कुनै खाली ठाउँ छोड्नुहुन्न ।’ उनका अनुसार एन ९५, सर्जिकललगायतका मास्क मात्र नभई सुती कपडाको तीन तहबाट बनेको मास्क सही तरिकाले उपयोग गर्दा अधिकतम सुरक्षित हुन सकिन्छ ।
अमेरिकन केमिकल सोसाइटीद्वारा प्रकाशित एक अध्ययनअनुसार कपडाको मास्कलाई अतिरिक्त तह जोड्दा त्यसले ‘वायुवाहक’ कणलाई अवरुद्ध गर्छ । ‘एकपटक उपयोग गर्नुपर्ने मास्क बढी पटक लगाउनुभन्दा सुरक्षित सुती कपडाको मास्क दिनहुँ धोएर पुन: प्रयोग गर्नु धेरै राम्रो हो,’ डा. अधिकारीले भने, ‘खुकुलो मास्क लगाउनु हुँदैन, बोल्न लाग्दा धेरैजसोले मास्क निकाल्ने गरेका छन्, यसले झन् संक्रमणको जोखिम बढाउँछ । मास्क लगाएपछि तपाईंको चस्मामा बाफ नजाने हुनुपर्यो ।’
एनल्स अफ इन्टरनल मेडिसिनमा प्रकाशित अध्ययनअनुसार सुती कपडाको थुप्रै तहले निर्मित मास्कले खोक्दा, हाच्छिउँ गर्दा हावामा जाने पानीको स–साना थोपालाई अवरुद्ध बनाइदिन्छ । जसले कोरोना भाइरस फैलिने खतरा कम हुन्छ । कपडाको मास्कलाई दिनहुँ साबुनपानीले धोएर घाममा सुकाएपछि सम्भव भए इस्त्री गरेर लगाउनु सबैभन्दा राम्रो हुने डा. पाण्डे बताउँछन् ।
(Source: ekantipur)

No comments:
Post a Comment
if you have any doubts, please let me know